News

आहा सहारा !

स्थापनाकालदेखि दुई दशक छुनलाग्दा सहारा क्लब जसरी अगाडि बढेको थियो, अब पुरानै स्वरुपमा मात्र सीमित रहेर ठीक हुन्न
आहा पोखरा ! यो सुन्दर सहर घुमेपछि सबैले यस्तै भन्दा हुन् । त्यसैले पो पोखराले आयोजना गर्ने गोल्डकप फुटबलको नाम आहा–रारा भएको हो कि ? होइन । आहा कुनै समय चाउचाउको ब्रान्ड थियो, अचेल यसको उत्पादन हुँदैन । तर गोल्डकपले नामले भने अझै आहा बोक्छ, रारासँगै । रारा त मुख्य प्रायोजक भयो नै । आहा–रारा गोल्डकपको आयोजक हो, सहारा क्लब । अब त सहाराको आफ्नै ब्रान्ड जस्तो भएको छ, आहा ।
सबैभन्दा पहिले डेढ दशकअगाडि फर्कौ न । ०६० सालतिर सहारा सहिद स्मारक लिग ‘बी’ डिभिजनको छनोट खेल्न काठमाडौं आएको थियो । छनोटको एक खेल सहाराले ठूलो अन्तरले पनि जित्यो । पछि चारैतर्फबाट दबाब बढ्यो, यसरी सहारालाई सिधै लिग खेल्न दिनुहुन्न भनेर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहारालाई फकाएर फेरि पोखरा फर्कायो अनि काठमाडौं आएयता खर्च भएको ४० हजार रुपैयाँ पनि फिर्ता पायो ।
त्यति बेला सहारालाई लागेको थियो, क्लबलाई यसरी लिग खेल्न नदिएर एन्फाले ठूलो अन्याय गर्‍यो । क्लबका पदाधिकारीले खुबै चित्त दुखाए । अहिले सहारा र यसका पदाधिकारीलाई यस्तो लाग्दैन । बरू जे भयो, त्यही ठीक लाग्छ । अझ त्यो नै क्लबको इतिहासमा एउटा निर्णायक मोड जस्तै रह्यो । त्यसको केहीअघि क्लबले पोखरामा स्थानीय केही टिम जम्मा गरेर सहारा कप आयोजना गर्‍यो । यो खुबै सफल पनि रह्यो ।
लगत्तै ०५८ सालमा सहाराले क्याराभान गोल्डकपको आयोजना गर्‍यो । अहिले लाग्छ, ती दिन पनि थिए अनि आजको दिन पनि छ । भर्खर १८ औं आहा–रारा गोल्डकप– २०७६ सकियो । क्याराभानलाई जोडेर यो खासमा प्रतियोगिताको १९ औं संस्करण हो । संस्करणको यो गणना मिलाउनुपर्ने छ । यो त सामान्य हिसाब–किताब मात्र रह्यो । खास तथ्य के हो भने मोफसलमा हुने फुटबल प्रतियोगितामध्ये सबैभन्दा उदाहरणीय भएको छ, यही आहा–रारा गोल्डकप ।

काठमाडौंबाहिर हुने नम्बर एक प्रतियोगिताभन्दा हुन्छ, यसलाई । यो जुन उद्देश्यले आयोजना हुन्छ, त्यस आधारमा पनि यो ठूलो छ । प्रतियोगिता आयोजनापछि नाफामा गएको रकमले सहाराले आफ्नै एकेडेमी चलाइरहेको छ । यो एकेडेमीका खेलाडीले फुटबल त खेल्छन् नै । तर यसमा जति छन्, सबै असहाय छन् । तिनीहरू हुर्केर बढेर राम्रो खेलाडी होस् भन्ने इच्छा त हुने नै भयो । त्योभन्दा पनि ठूलो उद्देश्य हो, यी सबै भविष्यमा आफ्नै खुट्टामा टेकेर केही गर्न सक्षम होऊन् ।

आर्थिक स्रोत र त्यसको उपयोग

यो एकेडेमी अहिलेसम्म कसरी चलिरहेको छ त ? यसको उत्तर हो, प्रतियोगिताको सञ्चालनबाट जोगिएको रकमले । सहाराको सबैभन्दा ठूलो विशेषता हो, यसले प्रतियोगिताको गुपचुप आयोजना गर्दैन । बरू आयोजकले सकेको केही समयपछि यसको ठ्याक्कै हिसाब किताब पनि प्रस्तुत गर्छ । पोहोर एकै लाख रुपैयाँ मात्र बच्यो, कुनै साल ३५ लाखसम्म जोगिएको पनि थियो । यसपल्टको फाइनलमा ५ हजार ६ सय ८० टिकट बिक्री भए, २ सय ५० रुपैयाँ मूल्यका ।

यसपल्ट टिकटबाट मात्र ३० लाख रुपैयाँ उठ्यो कि भन्ने अनुमान छ । ५ हजारदेखि १० हजारका ३ सय ६५ जति ब्यानर थिए । टिकट बिक्री चुस्त र दुरुस्त हुने गर्छ । ‘प्रतियोगिताका क्रममा खटिएका स्वयंसेवकले गर्ने कडा मिहिनेत नै यस्तो भएको हो,’ क्लब स्थापना समयका रामचन्द्र गुरुङ मान्छन् । सुरुआती दिनमा उनी नै सहाराका प्रशिक्षक थिए । त्यसो भनेको सहाराको पहिलो प्रशिक्षक अनि कप्तान थिए, तिनै विक्रम थकाली ।

यो भयो, ०५५ सालको कुरा । अहिले गुरुङ लन्डन बस्छन् । त्यहाँ पनि सहाराका लागि उत्तिकै सक्रिय छन् । सकारा यूकेले आफ्ना सदस्यबाट नियमित रकम सहयोगका रूपमा उठाउने गर्छ । केहीले महिनाको १० पाउन्ड तिर्छन् भने केहीले ५ पाउन्ड । यस्तै अहिले हङकङ सहाराको पनि अस्तित्व छ । त्यस्तै सहारा अस्ट्रेलिया पनि । ‘तर सहारा यहाँसम्म पुग्नुको मुख्य कारण भने प्रतियोगिताका क्रममा मैदानमा खटिने सदस्य नै हुन्,’ गुरुङ भन्छन् ।

सहाराका सुरुआती अध्यक्ष हुन्, वसन्त थकाली । उनी राम्रा लोकदोहरी गायक हुन् । गीत पनि लेख्छन् । त्यसपछि विक्रम आए । त्यसलगतत्तै वीरभद्र आचार्य । अहिले केशव थापाले नेतृत्व लिइरहेका छन् । ‘स्थापनाकालदेखि जति पनि हाम्रा सदस्य छन्, सबैले उत्तिकै मिहिनेत गरेर काम गरेका छन् । तिनको काम उत्तिकै विश्वासिलो छ,’ गुरुङ भन्छन्, ‘यो नै हाम्रो क्लबको सबैभन्दा ठूलो सम्पत्ति हो । यसैले सहारा यहाँसम्म पुगेको हो ।’ हुन पनि प्रतियोगिता अगाडि पछाडि सबै उत्तिकै खटेको पाइन्छ ।

ट्वाइलेट एक सहारा

सहारा कप आयोजना गर्नु अगाडि केही पोखरेली युवा भेला भएर फुटबल खेल्थे । निर्णय भयो, यो खेल्नेक्रमलाई त्यसमै मात्र सीमित राख्नुहुन्न । त्यसैले क्लब स्थापना गर्ने सोच आयो । बन्यो, सहारा क्लब । यसको पहिलो काम थियो, बसपार्कमा शौचालय बनाउने । त्यति बेला त्यहाँ शौचालय नभएर सबैलाई मर्का थियो । त्यसैले शौचालयले तुरुन्तै आकार लियो । एउटा खुबै चलेको हिन्दी सिनेमा छ,‘ट्वाइलेट एक प्रेमकहानी’ ।

त्यसमा नायकले आफ्नो गाउँघरमा शौचालय बनाउन खुबै व्यवधान बेहोर्नुपर्छ । सहाराको कथा ठ्याक्कै यस्तो छैन । तर उसले पनि यहाँसम्म पुग्न थुप्रै व्यवहार सामना गर्नुपरेकै हो । प्रतियोगिता सुरु हुन ठीकअगाडि मैदानमै डोजर चलाउने धम्कीदेखि स्थानीय एन्फा (कास्की जिल्ला फुटबल संघ) सँगको ३६ को आँकडा । फुटबलमा जुनसुकै नेतृत्व आए पनि किन हो, सहारा संस्थापन पक्षको विरोधी देखिन्छ । तर वास्तविकतामा यो होइन । फेर आहा–रारा गोल्डकपलाई असफल बनाउन पोखरामै अर्को गोल्डकप नभएको पनि कहाँ हो र ?

तर त्यसको नियत नै ठीक थिएन । त्यसैले यो प्रतियोगिता हराइसकेको स्थितिमा छ । अचेल जिल्ला फुटबल संघ पूर्णतः आर्थिक अनियमितताग्रस्त छ । पोखरामा वास्तविक रूपमा फुटबल संस्कृति स्थापित गर्ने सहारा भने बढेको बढ्यै छ, चाहे त्यो देश द्वन्द्वको समयबाटै गुज्रिरहेको स्थितिमा किन नहोस् । यसपल्ट प्रतियोगिता हुन नहुनेमा शंका थियो । विश्वव्यापी बनेको कोरोना भाइरसको डर । यही कारणले यसपल्ट दर्शक धेरै देखिएनन्, तर प्रतियोगिता त रोकिएन ।

सहारालाई सबैभन्दा बढी समस्या हुने भनेको प्रतियोगिता आयोजनाका लागि निश्चित समय नपाउनु हो । पोखरामा माघतिर फुटबल गर्दा जति ठीक हुन्छ, त्यो अरू बेला हुन्न । तर सहाराले ठीक समयमा आयोजना गर्ने मिति पाउँदै पाउँदैन । त्यसैले अन्तिम समयमा हतारिएर काम गर्नुपर्छ । वर्तमान अध्यक्ष थापाले फाइनलमा भनेका छन्, ‘समयमै सबै व्यवस्थापन गर्न पाउने हो भने यो प्रतियोगितालाई साँच्चै अन्तर्राष्ट्रियस्तरको बनाउने धोको छ ।’

हुन पनि आरा–रारा गोल्डकप अहिलेको जस्तै स्थितिमा सीमित भइरहे त्यसले भविष्यमा काम गर्ने छैन । फेरि प्रतियोगिताले अर्को वर्ष दुई दशक छुने छ, त्यसो भनेको १९ वर्ष पूरा गर्नेछ । त्यसो भनेको प्रतियोगिता किशोर रहेन, वयस्क भयो भन्ने पनि त हो । स्थापनाकालदेखि दुई दशक छुनलाग्दा सहारा जसरी अगाडि बढेको थियो, अब पुरानै स्वरूपमा मात्र सीमित रहेर ठीक हुन्न । अब केही न केही नयाँ गर्नुपर्ने हुन्छ नै ।

त्यसैले प्रतियोगिताका जिम्मेवारी र आवश्यकता नै छुट्टै हुन्छ । यस अर्थमा क्लब आफैं पनि अझ व्यवस्थित र सुदृढ हुनुपर्‍यो । अहिलेसम्म जे जति साख सहाराले कमाएको छ, त्यसमा टिकेर अगाडि बढ्न कहाँ सजिलो हुन्छ र ? फेरि अबका दिनमा सहारालाई दुःख दिने कसरी हो भनेर मौका खोज्नेहरू पनि त्यसै हराएर जाने छैनन् । यो यस्तो चुनौती हो, जसलाई सहाराले सामना गर्नैपर्छ । ‘आहा सहारा १’ भन्यो भन्दैमा सहाराले त्यसमै सुख मानेर बसिरहन भने पाइने छैन ।

दोबिल्लाको एकेडेमी

सेती नदी र फुस्रे खोलाको मिलनविन्दू हो, दोबिल्ला । यहीं छ, सहाराको महत्त्वाकांक्षी फुटबल एकेडेमी । पोखराको केन्द्र पृथ्वीचोक हो भने त्यहाँबाट खाली ७ किलोमिटर मात्रै टाढा छ, यो । पोखरा महानगर वडा नम्बर १७ मा यो २६ रोपनी जग्गामा फैलिएको छ । यहाँ मैदान छ, भवन पनि । भवन तीन तलाको छ । ०६९ माघमा यसको औपचारिक उद्घाटन भएको थियो । अहिले यहाँ दुई दर्जनजति खेलाडी छन् । तिनीहरूले नजिकको शिशु कल्याण माविमा अध्ययन गर्छन् ।

‘एकेडेमीका लागि हामीले कहाँमात्र जग्गा खोजेनौं र ?,’ अहिले सम्झन्छन् पूर्व अध्यक्ष विक्रम थकाली । धेरै मिहिनेत पछि जग्गा त पाए । तर तुरुन्तै पैसा जम्मा गर्न सकेनन् । फेरि एकमुष्ठ जग्गा उठाउने प्रस्ताव पनि थियो । त्यसैले क्लबकै केही केही सदस्यले अहिले एकेडेमीछेउकै जग्गा आफ्नो पैसा लगानी गरेर किने । सहाराका पदाधिकारी र यसका सदस्यमा यति धेरै समर्पण रहेको पाइन्छ । उनीहरूले मैदान बनाउन र भवन ठड्याउन उत्तिकै दुःख गरे ।

‘दिनदिनै एकेडेमीको खर्च बढ्दै छ र यसको सञ्चालन चुनौतीपूर्ण हुँदै छ,’ एकेडेमी संयोजक विश्वराज बराल भन्छन् । त्यसको सिधासिधा अर्थ हो, सहाराले एकेडेमी चलाउन अबका दिनमा अझ मिहिनेत गर्नुपर्नेछ । उनका अनुसार प्रत्येक महिनाको खर्च २ लाख रुपैयाँभन्दा बढी छ । पछि केही नहोस् भनेर एकेडेमीकै लागि मात्र पनि अक्षयकोष स्थापना भइसकेको छ र यसमा २ करोडभन्दा केही कम रुपैयाँ पनि जम्मा भइसकेको छ ।

यसपल्टको प्रतियोगिताकै क्रममा कम्तीमा मैदानबाट भने सुखद परिणाम आएको छ । अधिकांश एकेडेमीकै खेलाडी लिएर उत्रेको सहाराको टिम पुलिससँग टाइब्रेकरमा पराजित रह्यो । नत्र सहाराले यसअघि यताउताका खेलाडी जम्मा गरेर टिम बनाउँथ्यो र खेलाउँथ्यो । पुलिससँग भने यसपल्ट किशोर खेलाडीले भरिएको टिमले राम्रो खेल्यो । खेल त जित्न सकेन, सबैको मन भने जित्यो । ‘अबका दिनमा टिमको प्रदर्शन अझ राम्रो हुनेछ,’ बराल दाबी गर्छन् ।

यसैबीच यो एकेडेमीलाई फरक ढंगबाट चलाउने प्रस्ताव पनि आएको छ । यसपल्ट फाइनलकै बेला एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले एकेडेमीलाई आफूहरूले पनि सहयोग गर्ने र यसको घेरा बढाउने प्रस्ताव राखेका छन् । त्यसको अर्थ एकेडेमीमा असहाय मात्र हुने छैनन् । तर यसले सहाराको सुरुआती एकेडेमी सोचलाई धक्का दिने पक्का छ । तर के पनि निश्चित छ भने यो एकेडेमी सधैं एउटै धारणामा मात्र सीमित हुनुपर्छ भन्ने छैन ।

साभार: ekantipur.com
प्रकाशित : चैत्र ४, २०७६ ०९:३६

Leave a Comment