News

जर्सी नम्बर १०

राजु घिसिङ

नेपाली फुटबलमा खुबै चम्किएका खेलाडी हुन् अनिल गुरूङ । उनले इंग्ल्यान्डमा ट्रायल दिनेदेखि भारतको शीर्ष लिग खेल्ने अवसरसम्म पाए । राष्ट्रिय टिमबाट १० वर्ष खेलेका उनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको पनि झन्डै तीन वर्ष भयो । क्लब फुटबलमा व्यस्त भएको त १७ वर्ष नै लाग्यो ।

नेपालका यी १५औं कप्तानले क्लब करिअर अझै टुंग्याएका छैनन् । ३४ वर्षीय उनी क्लब र राष्ट्रिय टिममा जर्सी नम्बर १० लगाउँथे । उतारचढावपूर्ण करिअरमा अनिलको आफ्नै रोजाइका १० उपलब्धि :

३१ औं खेलाडी

पोखराको सहारा क्लब भन्नेबित्तिकै अनिलको नाम पनि जोडिन्छ । किनकि उनी सहारा एकेडेमीबाट आएका सबैभन्दा चर्चित खेलाडी हुन् । वास्तवमा उनी एकेडेमीले छनोट गरेका ३० खेलाडीको सूचीमा परेका थिएनन् । उनलाई सम्झना छ– ब्याग, ट्र्याकसुट दिएका ३० खेलाडीलाई उभ्याएर फोटो खिचाएको, जहाँ उनलाई हटाइएको थियो । त्यही बेला हो उनले तत्कालीन प्रशिक्षक कृष्ण थापा (हाल एन्फा उपाध्यक्ष) को छनोटमा नपरेको थाह पाएको । किन छनोट भएन भन्ने उनले पत्तै पाएनन् ।

आमाले क्लबका तत्कालीन अध्यक्ष विक्रम थकालीलाई धेरैपल्ट आग्रह गरेपछि बल्ल अनिलले एकेडेमीको प्रशिक्षणमा ३१ औं खेलाडीको रूपमा ट्रेनिङ गर्ने मौका पाएका थिए । थकालीले भनेका थिए, ठीकै छ ट्रेनिङमा पठाउनुस्, तपाईंको छोरालाई हामी केही दिन (खेल सामग्री) भने सक्दैनौं । एकेडेमीमा प्रशिक्षक फेरिए, डम्बरसिं गुरुङ आए । उनैले अनिललाई राम्रो छ भन्दै ख्याल गर्न थाले, खेलमा पनि समावेश गर्न थाले । अनिललाई ताजै छ, ‘दुःख लाग्थ्यो, सबैको ड्रेस हुन्थ्यो, मैले पाउँथेन । सबैलाई एक–एकवटा बल हुन्थ्यो । मैले भने घरबाटै बल लिएर जानुपर्थ्यो ।’ उनी मालेपाटनबाट साइकलमा पछाडि बल च्यापेर बिहान ६ बजे नै रंगशालातिर हुइँकिन्थे । यसरी उनले दुई वर्ष मिहिनेत गरे ।

स्कुले स्ट्राइकर

अनिल कक्षा ८ मा पढिरहेका थिए । सहारामा ट्रेनिङ गरिरहेका थिए । केही स्थानीय प्रतियोगिता पनि खेलिसकेका थिए । त्यसमा राम्रो देखेरै हुन सक्छ, ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले रेलिगेसन टार्ने खेलाडीको खोजीमा पोखरामा सम्पर्क गरेपछि प्रशिक्षक पुष्प केसीले अनिल, सुन्दर थापा र विश्वराज केसीलाई सिफारिस गरेको । यी तीनै खेलाडी मालेपाटनका हुन् ।

‘कप्तान र म्यानेजर रंगशाला (पोखरा) आएर बीबीसीका लागि काठमाडौंमा लिग खेल्न भने,’ अनिलले सुनाए, ‘खानाबस्न निःशुल्क । प्रतिखेल ५ सय रुपैयाँ दिने भने । पैसाभन्दा खेल्न पाउनु ठूलो भएकाले जान्छु भनिहालें । स्कुल पढ्ने व्यवस्था पनि काठमाडौंमै गरिदिने बताए । तर, मैले घरमा भनेको थिइनँ । स्कुल छुट्छ भनेर आमाले मान्नुभएन । एकदमै ढिट गरेपछि बल्ल दिनुभयो । एक हजार रुपैयाँ गोजीमा हालेर मलाई काठमाडौं पठाउनुभयो ।’ उनी काठमाडौं त आए । त्यसबेलासम्म ६ खेल सकिएको थियो, जहाँ बीबीसीले असफलतामात्रै बेहोरेको थियो ।

धरान र पोखराबाट ल्याएका तीन–तीन खेलाडीलाई पहिलो रोजाइमै उतार्दै बीबीसीले थ्रीस्टारविरुद्ध प्रतिस्पर्धा गर्यो । अनिलले भने, ‘हाम्रो पहिलो खेलमै थ्रीस्टारले १० गोल हान्यो । दसैंपल्ट सेन्टरबाट बल मैले नै चलाएँ ।’ कामले बेलायत पुगेका बीबीसीका प्रशिक्षक त्यसै दिन सोझै दशरथ रंगशाला आइपुगेका थिए । ६ जना नयाँ खेलाडी देखेर अचम्भित भए । उनी खुबै रिसाए । क्लबको बैठकमै ती नयाँ खेलाडीहरू चाहिँदैन भनिदिए । अफिसियलले आग्रह गरेपछि ती बेलायती प्रशिक्षकले अर्को खेलमा नयाँमध्ये अनिल र विष्णु सुनारलाई मात्रै पहिलो रोजाइमा खेलाए ।

अनिललाई उनै प्रशिक्षकले राइट मिडफिल्डबाट अगाडि (फरवार्ड) बढाए । ६ खेल खेल्दै ९ गोल गरेपछि १६ वर्षे अनिल एकाएक चर्चित बने । त्यसबेलाका चर्चित गोलकिपर उज्ज्वल मानन्धर (संकटा) विरुद्ध पेनाल्टी क्षेत्रबाहिरबाटै ‘भली गोल’ गरेपछि भोलिपल्ट पत्रिकामा अनिलको फोटो छापियो । ‘पत्रिकामा आफ्नो फोटो देखेर एकदमै खुसी भएँ । अरू गोल गर्दा पनि नाम र फोटो छापिन थाल्यो । टीभीको समाचारमा मैले हानेको गोल देखाउन थाल्यो । राम्रो खेल्यो भने यस्तो हुँदो रहेछ भन्ने लाग्यो । ऊर्जा आयो,’ उनले सुनाए । सहिद स्मारक ‘ए’ डिभिजन लिगको डेब्यूमा बीबीसीले रेलिगेसन मात्रै टारेन, १३ क्लबमध्ये नवौं भयो ।

६ ह्याट्रिक, ३२ गोल

बीबीसीपछि ललितपुरकै थ्रीस्टार पुगेका अनिल त्यहाँ सुरेन्द्र तामाङ र सन्तोष साहुखलको छायामा परे । प्रायः बेन्चमै बस्नुपर्‍यो । त्यसैले हुन सक्छ, अनिल मनाङ मर्स्याङ्दीमा पुगे २०६३ मा । भर्खरै वसन्त थापा विदेश लागेकाले उनले मनाङमा १० नम्बर जर्सी पाए । वसन्त गौचनले ‘राम्रो हुन्छ र सेटमा खेल्न पाउँछौ’ भनेपछि उनले क्लब फेरेका थिए । उनलाई थ्रीस्टारमै बस्न क्लबका तत्कालीन अध्यक्ष ललितकृष्ण श्रेष्ठले फकाइरहेका थिए ।

दक्षिण एसियाली खेलकुदका लागि यू–२३ टिमको बन्द प्रशिक्षण भइरहेको थियो । खेलाडीहरू कमल होटल, कमलपोखरीमा बसेका थिए । त्यही सुटकेसमा पैसा लिएर अनिललाई अनुबन्ध गर्न पुगेका थिए मनाङका व्यवस्थापक । थ्रीस्टारमा मासिक ६ हजार पाएका अनिललाई मनाङले १२ हजार दिने भन्यो । ‘तलब दोब्बर हुँदा खुसी भए । तर, अहिले पैसा होइन, बाइक चाहिएको छ भने । उहाँ (भुर्जुङ घले) आफैंले १ लाख ४३ हजार हालेर कालो पल्सर टेकुबाट किनिदिनुभयो । मेरो तलबबाट कटाउने गरी लिइएको त्यो बाइक अहिले पनि मसँगै छ । अंकल (भुर्जुङ) कै नाममा छ बाइक ।’

आर्मीका फरवार्ड विकर्ण श्रेष्ठ पनि एकदमै राम्रो लयमा थिए त्यो बेला । सर्वाधिक गोलकर्ताको होडमा विकर्ण र अनिलको प्रतिस्पर्धा थियो । ‘कहिले विकर्ण अगाडि हुन्थे, कहिले म,’ अनिलले भने, ‘एकदमै रमाइलो प्रतिस्पर्धा हुन्थ्यो । उनी एक दुई सिजन खेलेपछि घाइते भएर फुटबलबाटै गए । तर, लिगमा उनीजस्ता फरवार्ड चाहिन्छ, किनकि यस्तो प्रतिस्पर्धामा अझ धेरै गोल गर्ने हौसला मिल्छ । मलाई उनले गर्दा नै सर्वाधिक गोलकर्ता (‘ए’ डिभिजन लिग २०६३) भएजस्तो लाग्छ ।’

उनले त्यो सिजन ३२ गोल गरेर सर्वाधिक गोलकर्ताको यामाहा बाइक जिते । ६ ह्याट्रिक गरेका उनलाई त्यो उपलब्धि कुन–कुन टिमविरुद्ध हो भन्ने सम्झना छैन । उनको व्यक्तिगत प्रदर्शन राम्रो भयो । तर, मनाङको नतिजा भने गतिलो भएन । उपाधि जोगाउन होमिएको मनाङ १४ क्लबको डबल लिग (२६–२६ खेल) हुँदा चौथोमा सीमित भयो । त्यसयता अनिलको गोललाई एउटै लिगमा कुनै पनि फरवार्डले उछिन्न सकेको छैन ।

इंग्ल्यान्डमा ट्रायल

सहारा यूकेको पहलमा अनिल २०६६ सालमा इंग्ल्यान्डको छैटौं डिभिजन क्लब ‘वोकिङ’ मा ट्रायल दिन पुगे । तीन महिना त्यही ट्रेनिङ गरे । एक महिना डुले । फर्किएपछि आई लिग क्लबसँग हस्ताक्षर गरे ।

इंग्ल्यान्ड बसाइबारे अनिलले भने, ‘त्यहाँको फुटबल एकदमै नजिकबाट नियाल्न पाएँ । गेम त थाह थियो कस्तो छ भनेर । मैदान, खेलाडीको स्तर, लाइफ स्टाइलदेखि खानपान एकदमै राम्रो थियो । छैटौं डिभिजनको क्लब भए पनि वोकिङका खेलाडी सुटमै आउँथे ट्रेनिङ गर्न पनि । अनि चेन्ज गरेर मैदानमा जान्थे । उनीहरूले गाडी (कार) चढेको देख्दा मैले पनि भविष्यमा पैसा कमाएर यस्तै खालको नभए पनि सक्ने गाडी चढ्छु भन्ने ठानें । मिहिनेत पनि गरें । अहिले चढिरहेको छु ।’

वोकिङ एफसीमा प्रशिक्षकसँगको पहिलो भेटलाई अनिल बिर्सन सक्दैनन् । प्रशिक्षकलाई भूपेन्द्र गुरुङले नेपालको उत्कृष्ट खेलाडी भन्दै अनिललाई चिनाएका थिए । ‘मलाई हातले देखाएर कोचले यो पनि फुटबल खेल्छ र भनेर सोधे,’ ५ फिट ५ इन्चका अनिलले भने, ‘नेपालमा हजारौं दर्शकसामु खेलेको, गोल गरेको फोटो, पत्रिकाको कटिङ र सीभी देखाएपछि बल्ल ठीक छ भन्दै फिजिकल हेरेर मलाई ट्रेनिङमा बोलाएका थिए ।’

त्यस बेला प्रिमियर लिग क्लब चेल्सीमा कार्यरत भूपेनले अनिललाई वोकिङको ट्रेनिङमा पुर्‍याउनुपर्थ्यो । क्लबले केही सुविधा दिएको थिएन ।

अनिलले भने, ‘त्यहाँ (वोकिङ) मा मभन्दा धेरै माथिल्लो स्तरका खेलाडीसँग ट्रेनिङ गर्न पाएँ । म एकदम फिट पनि थिएँ । त्यो स्तरको अनुभवले दक्षिण एसियामा उच्चस्तरमा खेल्न एकदमै सजिलो बनाउँछ । अरु खेलाडी पनि यसरी गयो भने धेरै राम्रो हुन्छ ।’ उनलाई ‘नन लिग क्लब’ वोकिङ अनुबन्धको प्रस्ताव पनि गरेको थियो । ‘बिजनेस भिसा लिने प्रयास गरेका थिए, भएन । एन्फाले पनि समयमै पत्र पठाइदिएन । त्यसैले इंग्ल्यान्डमा खेल्ने सबै प्रयास खेर गयो,’ उनले भने ।

आई लिग यात्रा

अनिलको उत्कृष्ट प्रदर्शनको सहयोगमा एनआरटीले सिक्किममा थ्रीस्टारलाई हराएर गभर्नर्स गोल्डकपको उपाधि जितेको थियो । त्यसपछि सौरभ राईले आई लिग खेल्ने प्रस्ताव अनिललाई गरेका थिए । तर, अनिल इंग्ल्यान्डको नन लिग क्लबमा ट्रायल दिन गए । स्वदेश फर्कंदा पनि आई लिग सुरु नभइसकेकाले फेरि कुरा अगाडि बढ्यो । उनी दुई साताको ट्रायलको समय लिएर पुगे सिलोङ । ट्रेनिङ र केही मैत्रीपूर्ण खेलपछि उनलाई आई लिग क्लब सिलोङ लाजोङले २०६६ साल कात्तिकमा तीन वर्षका लागि अनुबन्ध गर्यो भारु ३९ लाख ७५ हजार (६३ लाख ६० हजार रुपैयाँ) मा ।

त्यस बेला इन्डियन सुपर लिग (आईएसएल) गाइँगुइँ पनि चलेको थिएन । भारतको माथिल्लो श्रेणीको प्रतियोगिता थियो आई लिग । सिलोङ लाजोङ भर्खरै आई लिगमा उक्लिएको थियो । त्यस बेला करिअरकै उच्च लयमा रहेका अनिलले भने, ‘प्रि–सिजनमा सिलोङ पुगेको थिएँ । मैले मान्छे नगन्ने, मेरो गेमले, सजिलो भयो । मैत्रीपूर्ण खेलहरूमा गोल पनि हानें । ‘लासिङ मिङ (सिलोङ लाजोङका मालिक) ले आफ्नो रिसोर्टमा बोलाएर यो केटा राख्नुपर्छ भने,’ अनिलले स्मरण गरे, ‘पछि थाह भयो उनको होटलमा काम गर्ने धेरै नेपाली रहेछन् । त्यसैले एउटा नेपाली खेलाडी पनि राख्छु भन्ने रहेछ ।’ अनिलले एकवर्षे सम्झौता चाहेका थिए । तर, क्लबले तीन वर्ष गर्ने भनेपछि त्यसैअनुसार हस्ताक्षर गरिएको थियो ।

‘ठूलो रकम । अहिले सम्झिँदा पनि खुसी लाग्छ,’ अनिलले सुनाए, ‘इन्डियाको एउटा क्लबमा खेल्न पायो, आई लिग खेल्न पायो भनेर खुसी भएको हो, त्यो ६३ लाख पाएर होइन । यति धेरै पैसा पायो अब कसरी खेल्ने भनेर दबाब हुन्थ्यो ।’

जवाहरलाल नेहरू रंगशालामा प्यारापिटभरी दर्शकबीच फुटबल खेलेका उनलाई घरघरमा खाना खाना बोलाउने स्थानीयको लस्कर हुन्थ्यो । उनले त्यहाँ २१ महिना बिताए । क्लब फड्को मार्न सकेन । टिम आई लिगबाट रेलिगेसनमा पर्यो र उनी एक वर्षको सम्झौता बाँकी छँदै पुरानो क्लब मनाङ फर्किए ।

‘स्थानीय प्रतियोगिता पनि धेरै खेले । १५–१६ गोल गरे,’ अनिलले सम्झिए, ‘आफ्नो लागि सिलोङ लाजोङको करिअर सफल मान्छु ।’ उनका लागि फेडेरेसन कप (सन् २००९) को फाइनल पुग्नु सबैभन्दा ठूलो उपलब्धि रह्यो, जहाँ उसलाई इस्ट बंगालले टाइब्रेकरमा पराजित गरेको थियो । अनिल टाइब्रेकरमा चुकेका थिए ।

लिग च्याम्पियन

सिलोङबाट अनिल २०६८ सालमा मनाङ फर्किए । उनको आगमनपछि मनाङ २०७० सालको सहिद स्मारक ए डिभिजन लिगमा च्याम्पियन बन्यो । ‘नकआउटको उपाधि धेरै जिते, नजितेको प्रतियोगिता छैन । तर, मैले जितेको लिगको उपाधि त्यही (२०७०) एउटा हो । लिगको उपाधिमा खुसीको सीमा नै छैन,’ करिअरको एकमात्र लिग उपाधिका क्रममा ७ गोल गरेका उनले सुनाए, ‘हजारौं दर्शकको अगाडि घरेलु लिगको उपाधि जित्दा एकदमै खुसी भए । फ्यानले गर्दा नै म यो ठाउँमा छु किनकि मलाई उनीहरूले सपोर्ट गर्छन् ।’

स्विडिस प्रशिक्षक योहान कालिनले सम्हालेको मछिन्द्रलाई १ अंकले छाड्दै मनाङ छैटौंपल्ट लिग च्याम्पियन भएको थियो । सुपर लिगमा मछिन्द्रले मनाङलाई पराजित गरेको थियो । त्यही लिगको प्रदर्शनको आधारमा कालिन ५ वर्षपछि आएर नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भएका हुन् । अनिल पनि त्यो लिगको उपाधि होड कठिन भएको मान्छन्, ‘हाम्रो टिमवर्क राम्रो थियो । खेल भने त्यस्तो धेरै राम्रो थिएन । तर, जाम्लिङ दाइ (घले, क्लबका तत्कालीन अध्यक्ष) व्यवस्थापनमा कमी कमजोरी थिएन ।’

त्यसपछि सागर थापा थ्रीस्टार गए अनि अनिल मनाङको कप्तान बने । उनी क्लब व्यवस्थापनसँग सम्बन्ध बिग्रिएपछि २०७५ सालमा थ्रीस्टार पुगे । २०७६ सालमा बीबीसी फर्किए । ‘धेरै क्लबले प्रस्ताव गरे पनि पुरानै क्लबबाट खेल्ने निर्णय गरे । अझै १–२ वर्ष खेलेर संन्यास लिन्छु,’ उनले भने ।

प्रधानमन्त्री कप

माओवादीको भ्रातृ संगठन गणतान्त्रिक खेलकुद महासंघले २०६५ सालमा आयोजना गरेको थियो, प्रधानमन्त्री कप । एन्फाको मान्यता पाए पनि यो औपचारिक प्रतियोगिता थिएन । यस आमन्त्रण प्रतियोगितामा नेपाल रातो र नीलो गरी स्वदेशी दुई टिम थियो । श्रीलंका र पाकिस्तानको राष्ट्रिय टिम, बंगलादेशी क्लब आरम्बाग र थाइल्यान्डको जेडब्लू ग्रुप आएका थिए ।

राष्ट्रिय टिमका सिनियर खेलाडीले भरिएको नेपाल रातोबाट अनिल खेलेका थिए । यो टिमको सुरुवात राम्रो थिएन । आरम्बागसँग बराबरी गरेपछि पाकिस्तानलाई १–० ले हराएर समूह विजेता भयो । सेमिफाइनलमा जेडब्लूलाई पराजित गरेको नेपाल रातोले फाइनलमा श्रीलंकालाई गोलरहित बराबरीपछि टाइब्रेकरमा ४–२ ले पन्छाउँदै उपाधि जित्यो । टाइब्रेकरमा अनिल, सन्दीप राई, राजु तामाङ र विराज महर्जनले गोल गरेका थिए ।

अनौपचारिक प्रतियोगिता भए पनि नेपाली टिमको हरेक खेलमा दशरथ रंगशालाको प्यारापिट भरिएको थियो । अनिल भन्छन्, ‘थाइ टिमसँग सेमिफाइनल खेलेको भोलिपल्टै श्रीलंकाविरुद्ध फाइनल खेल्नुपर्यो । हाम्रा धेरै खेलाडी घाइते थिए । पेनाल्टीमै भए पनि उपाधि जित्यौं । दर्शक प्यारापिटबाट मैदानतिर हाम्फाल्दा हाम्रो जर्सी नै थिएन । त्यो जितको खुसीको बयान नै गर्न सक्दिनँ । अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट क्षण हो मेरो ।’

भारतविरुद्ध गोल

मैदानको प्रतिस्पर्धा जस्तोसुकै भए पनि नेपाल र भारतको खेल सधैं आकर्षक हुने गर्छ । साफ च्याम्पियनसिप २०१३ त्यसकै शृंखला हो । जसमा नेपालले २–१ को सनसनी जित निकालेको थियो । सबै गोल दोस्रो हाफमा भएको थियो । दशरथ रंगशालामा भएको त्यो खेलको पहिलो गोलकर्ता अनिल नै हुन् । सन्दीप राईको फ्रिकिकमा विक्रम लामाको हेडर क्रसबारमा लागेर फर्केपछि अनिलले बललाई हल्का रूपमै गोलमा परिणत गर्दै १८ हजार दर्शकलाई खुसी दिएका थिए । अर्को गोल जुमनु राईले गरेका थिए । समूहमा पहिलो भए पनि नेपाली टिम सेमिफाइनलमा अफगानिस्तानविरुद्ध चुकेको थियो ।

‘दक्षिण एसियामा भारत भन्नेबित्तिकै हाम्रो लागि एकदमै ठूलो प्रतिद्वन्द्वी हो, सुनील क्षत्रीको टिमविरुद्ध पाएको सफलताबारे अनिलले भने, ‘त्यो खेल बराबरी गरे पनि हामी सेमिफाइनल पुग्थ्यौं । तर, जित्यौं । हामी सेमिफाइनलबाटै बाहिरिए पनि भारतलाई पराजित गरेको क्षण सबैभन्दा सुखद लाग्छ । अहिले सम्झँदा पनि गर्व लाग्छ । त्यो खेलको हरेक पास अहिले पनि ठ्याक्कै भन्न सक्छु । दिमागमा सबै कुरा सेट भएर बसेको छ ।’

उनले अन्तर्राष्ट्रिय फुटबलको १० वर्षे करिअरमा भारतविरुद्ध गरेको पहिलो र एकमात्र गोल हो । उनले नेपालका लागि ५० खेल खेल्दै ९ गोल गरेका छन् ।

कप्तानी कप

भूत न भविष्यको प्रतियोगिता थियो सोलिडारिटी कप । यसमा एसियन कप २०१९ छनोटको पहिलो चरणबाटै बाहिरिएका महादेशकै कमजोर आठ देश सहभागी थिए । एसियाली फुटबल महासंघ (एएफसी) ले यस्तो प्रतियोगिता न पहिला आयोजना गरेको थियो न त पछि सञ्चालन गर्ने योजना नै ल्याएको थियो । तैपनि खेल्न नपाइरहेको बेला नेपालजस्तो टिमका लागि महत्त्वपूर्ण नै बन्यो ।

अनिल गुरुङको कप्तानीमा मलेसिया उडेको नेपाली टिमले कुचिङ इस्ट टिमोरसँग गोलरहित बराबरीपछि ब्रुनाईलाई ३–० ले हराएर सेमिफाइनल पुग्यो । सेमिफाइनलमा २–२ पछि लाओसलाई टाइब्रेकरमा हरायो । फाइनलमा मकाउलाई सुजल श्रेष्ठको गोलमा १–० ले हराएर नेपालले ऐतिहासिक उपाधि जित्यो । यससँगै पहिले नै बाहिरिसकेको नेपालले एसियन कपको छनोट फेरि खेल्ने मौका पायो ।

‘मेरो कप्तानीमा घोषणा भएको टिमले उपाधि जित्यो । मैले लाइनअप नपाए पनि अनिल गुरुङको कप्तानीमा भएको टिमले एउटा उपाधि जित्यो भनेर सम्झिने छ, त्यसमा एदकमै खुसी लाग्यो,’ दक्षिण एसियाबाहिर नेपालले जितेको पहिलो उपाधिबारे अनिल बोले, ‘मेरो जीवनकै उत्कृष्ट क्षण हो त्यो ।’ कप्तान भए पनि उनले ग्यातोकु कोजुको टिममा पहिलो रोजाइमा खेल्ने अवसर पाएनन् । त्यसैले विराज महर्जनले आर्मब्यान्ड बाँधे । अनिल बेन्चै हुन्थे । उनी तीन खेलमा सब्स्टिच्युटको रूपमा मैदानमा प्रवेश गरेका थिए ।

‘मैले बेन्चबाट हेर्दा एउटा क्याप्तान भएर टिममै नभए पनि कहिले लाइनमा गएर केटाहरू पानी खान आउने बेला हौसला दिन्थे, कहिले चेन्जिङ रुममा । खेलाडी परिवर्तन हुँदा पनि मनोबल बढाउने काम गर्थे । त्यो गरेर पनि जित्दा एकदम खुसी लाग्छ,’ अनिल भावुक बने, ‘खेलाडीको समय परिवर्तन हुन्छ, सधैं एउटै हुँदैन । सधैं टिममा हुन्छ भन्ने छैन । त्यसैले मैले सम्हालेको टिमले उपाधि जित्दा खुसी नै लाग्यो । प्रतियोगिताका बेला पहिलो प्रार्थना मैले नै गर्थे । आर्मब्यान्ड अरुले नै बाँधे पनि होटलदेखि ट्रेनिङ ग्राउन्डसम्म टिमको नेतृत्व मैले नै गर्थें । दुईपल्ट मैदान प्रवेश गर्दा पनि आर्मब्यान्ड लगाएको थिएँ । फाइनलमा भने मैदानमा प्रवेश गरेर पनि त्यो क्षण नै अनुभव गर्न पाइएन । थोरै समय थियो १–० ले जितिरहेको थियो । बाँकी ५–६ मिनेट विपक्षीलाई रोक्नैपर्ने थियो । ध्यान त्यतैतिर गयो । आर्मब्यान्ड मलाई नदिएको हो वा दिन नखोजेको हो थाहा भएन ।’

अघिल्लो वर्ष जितेको बंगबन्धु गोल्डकपमा अनिललगायत सिनियर खेलाडीलाई आराम दिइँदा नेपालको कप्तानी विराजले गरेका थिए ।

सबैभन्दा महँगा खेलाडी

‘अनिल गुरुङ यतिमा अनुबन्ध, यति गोल, सर्वाधिक गोलकर्ता, नेपाली फुटबलमा धेरै उपाधि जितें, धेरै रेकर्ड बनाएँ । धेरै राम्रो गरेको छु भन्ने महसुस हुन्छ,’ अनिलले भने । अनिल उनै खेलाडी हुन्, जो वर्षौंसम्म आमाले किनिदिएको रबरको गोटीवाला बुट लगाएर सहारा एकेडेमीमा ट्रेनिङ गर्थे । ‘त्यो बुट च्यातिएर सिलाउँदै पनि धेरै लगाएर खेलें,’ उनले भने । उनले ए डिभिजन लिगको डेब्यू सिजन बीबीसीबाट बोनससहित १२ हजार थापेका थिए । ‘त्यो कमाइले विशालबजारमा सपिङ गरे, आधा पनि सकिएन । अनि घर गएर आमालाई ४ हजार दिएँ,’ उनले पहिलोपल्टको आम्दानी सम्झिए ।

बीबीसीमा प्रतिखेल ५ सय रुपैयाँ । थ्रीस्टारमा मासिक ६ हजार । मनाङमा मासिक १२ हजार । २०६४ सालमा एनआरटी (न्युरोड टिम) मा पुग्दा अनिलको पारिश्रमिक भयो मासिक २६ हजार । नेपालकै सबभन्दा महँगा फुटबलर बनेपछि उनको चर्चा झनै चुलियो । २०६६ कात्तिकमा आई लिग क्लब सिलोङ लाजोङ पुगे, जहाँ उनले भारु ३९ लाख ७५ हजार (६३ लाख ६० हजार रुपैयाँ) को तीनवर्षे सम्झौता गरे । यो नेपाली खेलाडीको कीर्तिमानी पारिश्रमिक थियो ।

‘मासिक २६ हजारले स्तब्ध भए नि ∕ किनकि प्रतिखेल ५ सयबाट खेल्न सुरु गरेको मैले ६ हजार, १२ हजारबाट एकैपल्ट २६ हजार पाउने आसै गरेको थिइनँ,’ अखिल नेपाल फुटबल संघ (एन्फा) विवादका कारण तीन वर्ष लिग नभएको अवस्थाको सुरुमा एनआरटी पुगेका उनले भने, ‘पैसा त पाइहालें तर त्योअनुसार कसरी प्रदर्शन गर्ने भन्ने दबाब मलाई भएको थियो ।’

अघिल्लो सिजन (२०६३) सर्वाधिक गोलकर्ताको पाएको बाइक चढेर काठमाडौं आइरहेको बेला अनिलले थ्रीस्टारमा आबद्ध हुने वचन दिएका थिए । थ्रीस्टारका गोलकिपर सञ्जीव श्रेष्ठ बालाजु बसपार्कमा अनिलको प्रतीक्षा गरिरहेका थिए । तर, अनिललाई थानकोटबाटै एनआरटीका कप्तान सुरेन्द्र श्रेष्ठसहितले त्रिपुरेश्वरस्थित क्लबको कार्यालयमा पुर्‍याए । थ्रीस्टारका तत्कालीन अध्यक्ष ललितकृष्ण श्रेष्ठले उनलाई निरन्तर फोन गरिरहेका थिए । उनको मोबाइल नै अफ भयो ।

त्यसबेला मनाङमा मासिक २१ हजार माग गरिरहेका अनिलले भने, ‘एनआरटीमा दाइहरूले मलाई कति लिने (तलब) डिमान्ड गर, त्यति नै दिन्छु भन्नुभयो । त्यसैमा म खुसी भए, डिमान्ड गर्नैपरेन ।

अनि मासिक २६ हजार दिने भने । १७–१८ हजार दिएको भए मनाङमै बस्थें ।’ क्लब परिवर्तन गर्दाको तीतो अनुभव पनि उनीसँग छ । भने, ‘मैले धेरै मिहिनेत नगरेको भए राष्ट्रिय टिमबाट हटाइसक्थे (धेरै पहिला) होला ।’

प्रकाशित : श्रावण २४, २०७७ ११:०२ / कान्तिपुर

Leave a Comment