News News In Picture

आहा ! रारा गोल्डकप चैतमा

पोखरामा फुटबलको चर्चा गर्दा आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको नाम स्वतः जोडिएर आउने गर्दछ । जस्तै परिस्थितिमा पनि सहारा क्लबले आहा रारा गोल्ड कप रोकेको छैन ।

पत्रकार सम्मेलनमा आयोजक सहाराका पदाधिकारी र अन्य । तस्बिर – सुदर्शन रञ्जित

चाहेको त्यो द्वन्द्वकालमा होस् वा पोखरा रंगशालामा निमार्णाधि अवस्थामा होस् । निरन्तर आयोजना हुनु आहाको अर्को सफलता हो । यसपटक चैत १७ देखि २९ गते सम्म १९ औं संस्करण आयोजना गरिने सहारा क्लबे शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

२०७२ वैशाख महाभूकम्पले प्यारापिट जीर्ण भएपनि सहाराले आहा गोल्डकप रोकेन । पोखरा रंगशालामा रहेको प्यारापिट भत्काए पनि रंगशालामा अस्थाई प्यारापिट तयार पारेर पनि सहाराले आहा गोल्ड कप आयोजना गर्यो । गत वर्ष कोभिड १९ का कारण चैत ११ गते लकडाउन हुनु केहि दिन अघि मात्र आहा रारा गोल्ड कप आयोजना भएको थियो ।

निर्माण पूर्ण रुपमा सम्पन्न भइनसकेको र कोभिड १९ को महामारी पूर्ण रुपमा नियन्त्रणमा आइनसकेका कारण यसपटक पनि क्षमता भन्दा आधा दर्शकमात्र राखेर सहाराले आहा गोल्ड कप आयोजनाको तयारी गरिहेको छ ।

क्षमता भन्दा आधा दर्शक राखेर प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट पत्र प्राप्त भएको पत्रकार सम्मेलनमा सहाराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । पोखरा रंगशाला १६ हजार दर्शक क्षमताको छ ।

यसपटक कति टोलीलाई सहभागी गराउने , पुरस्कार राशीमा बृद्धि गर्ने नगर्ने तय भइनसकेको बताइएको छ । ‘ मोफसलमा क्रिकेट लगायत अन्य प्रतियोगिताहरु भइरहको समयमा हामीले पनि प्रतियोगिता संचालन गर्न सक्छौ भनेर एन्फालाई निवेदन गरेका थियौँ । त्यहि अनुसार एन्फाले हामीलाई मिति दिएको छ’ अध्यक्ष थापाले भने ।

उनले प्रतियोगिता सञ्चालनका लागि क्लब तयार रहेको बताए । थापाले भने ‘कतिपय विषय परिस्थितिलाई मध्यनजर राख्दै तय गरिनेछ । अहिले १२ टोलीको सहभागिता रहने आधारमा तयारी गरेका छौँ । तत्कालको अवस्थामा विदेशी टिम ल्याउन कठिन छ’ थापाले भने ।

एन्फा र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५० प्रतिशत दर्शक राखेर प्रतियोगिता संचालन भनेको जनाएको छ । ‘अहिले फुटबल मैदान पूर्णरुपमा बनिसकेको अवस्था छैन । हामीलाई जानकारी भएअनुसार एन्फा र राखेपको पत्राचार अनुसार ५० प्रतिशत मात्र दर्शक राख्न सक्ने भनिएको छ र सोहि अनुसार हामीले प्रतियोगिता संचालन गर्नेछौँ ’ थापाले भने ।

अध्यक्ष थापाले असहज परिस्थितिका कारण तत्काल केही प्रतिबद्धता दिन नसकिने बताउदै पुरस्कार राशि र टिकट शुल्क पनि तोक्न नसकिएको बताएका छन् । राखेप सदस्य राजेश गुरुङले सहारा क्लबले पोखरा चिनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउदै पोखराको खेलकुद र सहारा क्लबलाई राष्ट्रिय खेलकुद परिसदले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतियोगितामा अघिल्ला वर्षहरुमा जस्तै आयोजक टोली, विभागीयसहित ए डिभिजनका क्लब तथा मोफसलका क्लबको सहभागिता रहने सहाराका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए ।

हिमश्री फुड्स प्रा.लिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहँदै आएको आहा रारामा सर्वोत्कृष्ट खेलाडीको लागि अप्रिला स्कुटरले प्रायोजन गरेको छ । प्रतियोगिताबाट झन्डै १ करोड ३० रुपैयाँ आम्दानी र झन्डै ३० लाख रुपैयाँ बचत हुने सहाराको अनुमान छ ।

सहाराले एकेडेमी संचालनार्थ हरेक वर्ष आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ । एकेडेमीमा हाल तेस्रो ब्याचमा १४ जिल्लाका २४ जना बालक आश्रित छन् । गतवर्ष विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ–मस्र्याङ्दी क्लबले उपाधि जितेको थियो । www.hamrokhelkud.com

Leave a Comment