News

प्रेस विज्ञप्ति चौंथो ब्याजको प्रशिक्षार्थी बालकहरुको नयाँ भर्ना

आदरणीय पत्रकार मित्रहरु
नमस्कार ! मिति २०७९।१२।१६ बिहीबार
प्रेस विज्ञप्ति

मोफसलको पोखरामा अवस्थित सहारा क्लब पोखराले २०५८ सालदेखि संञ्चालन गर्दै आइरहेको सूर्यबहादुर केसी मेमोरियल सहारा छात्रा बास फुटबल एकेडेमीमा आगामी २०८० साल बैशाखदेखि चौंथो ब्याजको प्रशिक्षार्थी बालकहरुको नयाँ भर्ना गर्ने निर्णय गरेको छ।यसभन्दा पूर्व २०५८/२०६१/२०७० सालको एकेडेमीको सफल अनुभवलाई सँगाल्दै यस पटक चौंथो ब्याजको बालक प्रशिक्षार्थीहरु भर्ना गर्न लागिएको हो। एकेडेमीबाट योभन्दा पूर्वका उत्पादित प्रशिक्षार्थीहरुमा चर्चित पूर्व राष्ट्रिय फुटबल कप्तान अनिल गुरुङ नेपालको फुटबल इतिहासमा स्थापित एक खेलाडी भएको यहाँहरुलाई स्मरण नै छ।त्यस्तै नेपाल पुलिस क्लबमा अजीत भण्डारी, नेपाली सेनामा कार्यरत नवीन श्रेष्ठ,नेपालको ए डिभिजन सातदोबाटो क्लब अनुबन्धित सुशील लामा, मनाङ मस्याङ्दी क्लबमा अनिल पोमु लिम्बु अनुबन्धित भै तत् क्लबहरुबाट आ-आफनो फुटबल खेलकौशल पस्किदै आइरहेको पनि स्मरण गराउन चाहन्छौ।नेपालको फुटबल इतिहासका नक्षत्र स्व.डम्बरसिंह गुरुङ, पूर्व राष्ट्रिय फुटबल खेलाडी स्व.बिल तामाङ, पूर्व राष्ट्रिय फुटबल प्रशिक्षक किरण श्रेष्ठ एकेडेमीका प्रशिक्षक थिए भने हालका एकेडेमी प्रशिक्षक प्रल्हाद हिराचन, हालका उदियवान प्रशिक्षक विष्णु गुरुङ र पूर्व राष्ट्रिय फुटबल U-23 का खेलाडी लक्ष्मण जिसी पनि एकेडेमीका उत्पादन हुन्।
हामीहरुले यसभन्दा अघि तेश्रो ब्याजको पहिलो चरणमा १२ कक्षा उत्तीर्ण १० प्रशिक्षार्थी बालकहरुलाई पास आउट गरेका थियौं।पास आउट गरिएका प्रशिक्षार्थीहरु पूर्णसामाजिकीकरण भई विभिन्न क्षेत्रमा सबल र सक्षमरुपमा जीवन निर्वाह गरिरहेका छन्। गत २०७० सालको तेश्रो ब्याजका अब बाँकी १३ जना प्रशिक्षार्थीहरुको कक्षा १२ परीक्षा समाप्त भएपछि सम्भवत आगामी जेठको अन्तिम हप्ता पास आउट गरी आगामी नयाँ शैक्षिक सत्रदेखि चौंथो ब्याज भर्ना गर्ने कार्ययोजना क्लबले बनाएको जानकारी गराउन चाहन्छौ।
वार्षिक कुल ३० लाखको हारहारीमा खर्च हुने उक्त एकेडेमीको मूलस्रोत सूर्यबहादुर केसीको परिवारजनबाट १५ लाख बर्सेनि प्राप्त भै राखेको छ भने क्लबले आयोजना गर्ने आहा रारा पोखरा गोल्ड कप, देउसी भैलो कार्यक्रम, विभिन्न शुभेच्छुक शुभचिन्तकदाता र विशेषतः सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रलिया समेतको विशेष सहयोग र एकेडेमीकै निरन्तरताको निम्ति अक्षयकोषमा संकलित रकम नै यो एकेडेमीको मूलस्रोत रहेको जानकारी गराउँछौ।
एकेडेमीमा भर्ना हुने प्रशिक्षार्थी बालकहरुको न्युनतम योग्यता तथा मापदण्ड निम्नानुसार तय गरिएको छ।
न्युनतम योग्यता तथा मापदण्ड
(१) कठिन परिस्थिति तथा विपन्न वर्गको भई निम्नअनुसारको हुनुपर्ने ।
(क) बुवा वा आमा गुमाएको ।
(ख) बुबाआमा (क) र (ख) वर्गको अपांगता भएको ।
(ग) प्रशिक्षार्थी बालक २०७१ बैशाखदेखि सोही वर्षको चैत मसान्तभित्र जन्म भई ९ वर्ष पूरा भएर १० वर्ष ननाघेको हुनुपर्ने ।
(घ) कक्षा ५ अध्ययनरत् हुनुपर्ने ।
(ङ) शारीरिकरुपमा तन्दुरुस्त भई कुनै पनि अपागंता नभएको हुनुपर्ने।
(च) आवश्यक संख्या ३० जना ।
आवश्यक कागजात
(क) नजिकको नातेदार वा बालक आश्रित संघसंस्थाको आवेदन ।
(ख) बालकको बुवाआमाको वा नजिकको नातेदारको नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपी वा आश्रित संघसंस्थाको दर्ता प्रमाणपत्रको फोटोकपी ।
(ग) स्थानीय निकायको सिफारिसको सक्कल ।
(घ) जन्मदर्ताको प्रमाणपत्र (हस्पिटलको जन्म दर्ता समेत) ।
(ङ) मृत्यु दर्ता प्रमाणपत्रको फोटोकपी ।
(च) सम्बन्धित बालकको चलअचल सम्पत्ति भए सोको निस्साको फोटोकपी ।
(छ) बालकको हालैसालै खिचेको फोटो २ थान ।
(ज) आवेदन फाराम २०७९ चैत मसान्तभित्र आइपुग्नु पर्नेछ ।
कार्यालय प्रयोजन
(क) बालकको स्वास्थ परीक्षणको प्रतिवेदन ।
(ख) आवश्यक प्रमाण कागज।
(ग) रीतपूर्वकको आवेदन फाराम ।
(घ) कबुलियतनामा ।
(ङ) वार्षिक प्रगति विवरण ।

अन्त्यमा, सदासर्वदा हामीहरुलाई सहयोग गर्दै आउनु हुने सम्पूर्ण पत्रकार मित्रहरु बहुचर्चित आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताका मुख्य प्रायोजक, क्लबका मानार्थ सदस्य सल्लाहकारज्युहरु, संस्थापक अध्यक्ष, पूर्व अध्यक्षज्यूहरु, निवर्तमान अध्यक्ष तथा सल्लाहकार सभापतिज्यु, पूर्व पदाधिकारीज्युहरु, कार्यसमितिका पदाधिकारीज्यूहरु, आजीवन तथा साधारण सदस्यज्यूहरु विभिन्न संघ/संस्थाका प्रतिनिधिज्यूहरु, सबै शुभेच्छुक तथा शुभचिन्तकज्यूहरुमा सहाराको यो सामाजिक अभियानमा यथाशक्य सहयोग र सदभावको हार्दिक अपिल गर्दै यो महत्वपूर्ण उपस्थितिको निम्ति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
Website:saharaclubpokhara.com.np
Gmail:saharaclubpokhara@gmail.com
फोन नं.०६१-५३२५६१/५५१०५१
सम्पर्क व्यक्ति-
सुनिल रानामगर (९८६९६-०७५१७) चित्रबहादुर पुन (९८५६०-७२५६२)
केशवराज बराल (९८५६०-२२२३४)
जय नेपाली फुटबल ।जय सहारा

Leave a Comment