News

सहारा यसै सहारा होइन !

टीएस ठकुरी

‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ, पोखरा त साँच्चिकै पो पोखरा नै रैछ ।’ रुकुममा जन्मिएर नेपालगन्जलाई कर्मथलो बनाएका कवि गीतकार, संगीतकार तथा गायक प्रेमप्रकाश मल्लले धेरै अघि आफ्नो गायकीमार्फत पोखरालाई यसरी चित्रण गरेका थिए ।

पोखरा आफैंमा प्रिय छ । साँच्चिकै प्रिय । प्रियसीको सम्झनामा जसरी गीत कविता रचना हुन्छन्, पोखराका बारेमा पनि उत्तिकै शब्द सिर्जना हुने गरेका छन् । सरुभक्तले ‘हङकङ पोखरा, निर्मोही आफ्नो को छ र?’ सिर्जना गरे । प्रमोद खरेलले ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा’ गाए ।

धेरै जसो कवि, गीतकार र गायक पोखराका बारेमा गीत रचना गर्न र गाउन साँच्चिकै लोभिन्छन् । यो सत्य हो । तर प्रेमप्रकाशले जसरी समग्र पोखराकै सुन्दरताको बयान गरेर गाए, सायद अरुले अलिक कन्जुस्याईं गरे कि? यो त सबै गीत सुनेपछि मात्र भन्न सकिने भयो ।यद्यपी म यतिबेला गीत, संगीतको कुरा गर्दै छैन । खेलकुदको राजधानी बन्न तम्सिएको पोखराको चर्चा गर्दैछु । जहाँ भर्खरै आहा! रारा गोल्डकपको १८औं संस्करण भव्य र सभ्य ढंगबाट सम्पन्न भयो । नेपालगन्जमा खेलकुदका दुई प्रमुख खेलकुद इभेन्टको नेतृत्व गर्दा आयोजना र निरन्तरताका अप्ठ्यारा पक्ष मेरा स्मृतिमा पनि छन् । यसै वर्ष प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल र नेपालगन्ज म्याराथनले क्रमशः छैटौं र पाँचौं संस्करण पुरा गरे । आहा! रारा गोल्डकपसँग तुलना गरिहाल्ने ल्याकत अहिले हामीसँग छैन । हामी भन्दा तीन गुणा बढ्ता समयको यात्रा पार गरिसकेको छ ।यस हिसाबले आहा रारा गोल्डकप वयस्क अवस्थामा प्रवेश गरिसक्यो, प्रधानमन्त्री कप र नेपालगन्ज म्याराथन त भर्खर दौडन लायक भएका छन् । यसै परिवेशमा म नेपालगन्ज गोल्डकपलाई पनि सम्झन्छु । तीन संस्करण पुरा गरेर विगत दुई बर्षदेखि यात्रालाई अघि बढाउन नसकिरहेको यो प्रतियोगिता पनि यस क्षेत्रका फुटबलप्रेमीहरुको प्यास मेटाउन सफल भएकै हो । अब त स्तरीय मैदान र स्टेडियम हामीसँग तयारी अवस्थामा छ । यसले पनि निरन्तरताको आधार तयार गर्नुपर्नेछ ।

खेलकुद सम्बन्धि इभेन्ट त्यति सजिलो पक्कै छैन । यसको व्यथा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीजीलाई राम्रोसँग थाहा छ । अथवा अन्य आयोजकलाई पनि यसको अनुभव पक्कै छ । धनगढीका सुभाष शाही र सुरेश हमाललाई पनि राम्रो अनुभव हुनुपर्छ ।

खेलकुद प्रतियोगिताको संख्या हेर्ने हो भने पूर्वको तुलनामा पश्चिम अलिक निरश छ, उजाड छ । उर्वर छैन । मुलधारका कर्पोरेट हाउसको प्राथमिकतामा पश्चिम छैन । तैपनि पश्चिम भर्जिन छ, त्यसैले आशा गर्ने ठाउँ पनि छ ।

तर पोखराको माटो जुनसुकै खेलका लागि उर्वर मानिन्छ । त्यसैले त सहारा क्लबले हाँसी खुशी गर्वका साथ १८औं संस्करणको यात्रा पूरा गर्दा निरन्तरता र स्तरोन्नतिका हिसाबले अलग इतिहास रचेको छ आहा! रारा गोल्डकप मार्फत । मन खोलेर खर्च गर्दापनि कुनै संस्करणमा ३५ लाख रूपैयाँ बचत गर्नु इभेन्ट निरन्तरताको सबल आधार हो । सहारा र आहा! राराले त्यो लय समातिसकेको छ । लामो यात्रामा अघि बढ्ने आधारशीला खडा गरिसकेको छ । संसारकै मान्यताप्राप्त लामो दौड म्याराथन कुद्न १८ बर्ष पुगेको हुनुपर्छ । यसअर्थमा आहा रारा गोल्डकप म्याराथनको लायक बनिसकेको छ । यो ठुलो सफलता हो ।

शब्द आहा!, अर्थ खुशी । आहा! शब्दको अर्थ हुन्छ हर्ष, खुशी । यसलाई आनन्द, प्रशंसा र प्रशन्नता आदिको सूचक पनि मानिन्छ । आहाले सबैलाई खुसी बाँडेको छ, जसरी पोखराले सबैलाई लोभ्याउँछ, लठ्ठ बनाइदिन्छ । फुटबलले पनि संसारलाई लठ्ठ पारिदिन्छ । सहारा र फुटबल आपसमा पर्याय झैं छन् । हुनत फुटबल त माध्यम मात्र हो । यसले सिंगो खेलकुद जगतलाई खुशी बनाइदिएको छ, बाटो देखाइदिएको छ । सहारा उत्कृष्ट मोडल हो । सहाराकर्मी रोल मोडल हुन् ।

पोखरा भन्नेबित्तिकै सुदर्शन रञ्जित सम्झिन्छु । जो फोटो पत्रकार हुन् । जसको फोटो अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)बाट पुुरस्कृत भयो । माछापुच्छ्रे पृष्ठभूमि पारेर क्रिकेट खेल्दै गरेको उक्त फोटोले विश्वव्यापी चर्चा बटुलेसँगै सुदर्शन दाइको पनि चर्चा चुलियो । मोफसलको फोटोपत्रकारले मुलधारमा मान्यता पाएको उदाहरण हो सुदर्शन दाइ । सुदर्शन दाइ र पोखरा एकअर्कामा पर्याय बनिसके । मलाई त्यस्तै लाग्छ । चाहे भलिबल, चाहे फुटबल वा अन्य खेलहरु । अनि क्रिकेटमा समेत सुदर्शन दाइको खोजी हुन्छ । सुदर्शन दाइको फोटोग्राफी र स्थानीय स्तरमा समन्वयकारी भुमिका लोभलाग्दो छ ।

पोखरामा क्रिकेटको त्यति क्रेज छैन । तर पीपीएलले सम्भावना खोजिरहेको छ । पीपीएलको निरन्तरताले अन्तर्राष्ट्रिय जगतमा पोखराको ब्रान्डिङ गज्जबले हुनेछ । छुम्बीजी एण्ड टिमले पक्कै यसको श्रेय कुनैदिन पाउनेछ ।

१३औं दक्षिण एशियाली खेलकुद(साग)को अध्ययन तथा रिपोर्टिङका सिलसिलामा पोखरा पुगेका बेला छुम्बी लामासहित लेकसाइडमा कफी पिएको स्मरण ताजै छ । पिपिएलको दोस्रो संस्करणका लागि छुम्बीजी सुदर्शन दाइ खोज्दै त्यहाँ आइपुगेका थिए । छुम्बी जीसँगै थिए विमान चालक प्रफुल्ल (वैद्य) दाई । क्रिकेट प्रतिको उनको लगाव बेजोडको छ । नेपाली क्रिकेटसँग सरोकार राख्ने सबैलाई उनको क्रिकेट नसा राम्ररी थाहा छ ।

कुनैबेला मञ्जु गुरुङ, सिपोरा गुरुङ पोखराका पर्याय थिए । उनीहरुलाई सेलिब्रिटी बनाउन पनि सुदर्शन दाइको योगदान कम आँक्न सकिन्न । पछि अनिल गुरुङ र परीक्षा गुरुङ त्यसैगरी उदाए । खेलाडीको स्टारडम लामो समय नटिक्ला, तैपनि मञ्जु, सिपोरा, परीक्षा, अनिल पोखराका परिचय हुन् । नेपाली खेलकुदकै बहुप्रतिष्ठित पल्सर स्पोर्ट्स अवार्डमा मञ्जु र सिपोराले पब्लिक च्वाइस अवार्ड विजेता बन्दा पोखराको आत्मियता देखिएकै हो । पोखरा खेलमैत्री सहर हो भन्ने यसले पनि पुष्टि गर्दछ ।

इभेन्टका हिसाबले आहा! रारा पोखराको ब्रान्ड बनिसकेको छ । आहा! रारा हिमश्री फुड्सको उत्पादन हो । सायद आहा! चाउचाउ बन्द भइसक्यो । एउटा सर्कलका लागि रारा नेपालको नम्बर एक चाउचाउका रुपमा स्थापित नै छ । हिमश्रीको ब्रान्ड अब आहा! रारा गोल्डकप मार्फत सहाराको ब्रान्ड जस्तै देखिएको छ । यो अब पोखराको ब्रान्ड बनिसक्यो । भन्न सकिन्छ नेपाली खेलकुदकै ब्रान्ड हो । यो सबको मेरुदण्ड सहारा क्लब नै हो । सहारा बिना आहा! रारा सम्भव थिएन ।

सहारा क्लबको सहारा एकेडेमी अझ साँच्चिकै उत्कृष्ट दृष्टान्त बनिसकेको छ । त्यहाँ पुग्दा पनि जोसुकैलाई आहा भन्न करै लाग्छ । विक्रम थकाली दाइ, सुदर्शन दाइसहित हामी दोबिल्लास्थित सहारा एकेडेमी पुगेका थियौं । केही समयपछि एन्फा उपाध्यक्ष पंकज नेम्वाङ र नवीन पाण्डे आइपुगे । नेम्वाङले जब ढोकेर एकेडेमी भवन छिरे, मलाई पनि लाग्यो सहारा वास्तवमै ढोग्न लायक हो । तीन तल्ले भवन, आँगन परिसर र मैदानको सरसफाइ जोकोहीलाई लोभ्याउने खालको संरचना र मनोरम दृष्य सहारा एकेडेमीको परिचय हो ।अनाथ बालबालिकालाई फुटबलमार्फत राज्यको मुलधारमा ल्याउने सत्प्रयास साँच्चिकै पुजनीय छ । अनाथ बालकहरुका लागि सहारा साँच्चिकै सहारा बनेर आएको छ । अध्यक्ष केशव थापा पेशागत कर्ममा व्यस्त थिए सायद । पुर्व अध्यक्ष विक्रम दाइले नै सबै ब्रिफिङ गरे । क्लबका कोषाध्यक्ष राजु लालचन दाईले आफ्नो गाडीमा हामीलाई दोबिल्ला पुर्याए ।

पदीय जिम्मेवारी सहाराकर्मीका लागि औपचारिकता मात्र हो, सबै सेवाभावमा रमाउने खास विशेषता हो । देश विदेशमा रहेका सहाराकर्मीको खास परिचय यही रहेछ भन्ने बुझ्न मलाई समय लागेन । मैले त्यही अनुभुति गरें । दिउँसो पोखरा रंगशालामा साग फुटबल फाइनलपछि उनै कोषाध्यक्ष राजु दाईसँगै स्वतस्फुर्त सहाराकर्मीहरुले फोहोर टिप्दाको परिदृष्यले पनि मलाई तान्यो । अनि भन्न मन लाग्यो –‘आहा! सहारा, आहा! रारा ।’ पोखरा त साँच्चिकै पोखरा नै रहेछ ।  src: www.hamrokhelkud.com

Leave a Comment