News

थप जटिल अवस्था नआए आहा रारा गोल्डकप हुन्छः प्रजिअ आचार्य

पोखरामा आयोजित २०औं आहा रारा गोल्डकप हुने नहुनेमा अन्योलता बढेको छ ।

जिल्ला प्रशासन कार्यालयले मेला र महोत्सव नगर्न आग्रह गरेसंगै प्रतियोगिता हुने नहुनेमा अन्योलता बढेको हो ।

माघ ६ गतेदेखि पोखरा रंगशालामा प्रतियोगिता हुँदैछ । प्रतियोगिताको तयारी करिब ९० प्रतिशत पूरा भएको आयोजक सहारा क्लवले जनाएको छ ।

सहारा क्लवका अध्यक्ष सुरज गुरुङले प्रशासनले मेला र महोत्सव नगर्न भने पनि खेलकूद गतिविधिका विषयमा केही नभनेको बताए ।

गण्डकी भ्वाइससंग कुरा गर्दै अध्यक्ष गुरुङले स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरेर प्रतियोगिता सञ्चालन गर्ने स्पष्ट पारे । तर उनले प्रशासनले प्रतियोगिता नगर भनेर निर्देशन दिएमा आफूहरुले मान्ने बताए ।

पोखरा रंगशालाको प्याराफिटको क्षमता १६ हजार ५०० जनाको भएकाले त्यसको एक तिहाइ दर्शक राखेर, खोप लगाएकालाई मात्र प्रवेश दिएर प्रतियोगिता सञ्चालन गर्न आफूहरु तयार रहेको उनले बताए ।

आफूहरु प्रशासन लगायतका निकायहरुसंग सम्पर्कमै रहिरहेकाले प्रतियोगिता हुने विश्वास व्यक्त गरे ।

थप जटिल अवस्था नआए प्रतियोगिता हुन्छ : प्रजिअ 

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले यो भन्दा बढी अर्थात थप जटिल अवस्था नआए आहा रारा गोल्डकप हुने बताएका छन् ।

प्रजिअ आचार्यले अन्तर्राष्ट्रिय प्रतिष्ठासंग गाँसिएको प्रतियोगिता भएकाले स्वास्थ्य सचेतना अपनाएर प्रतियोगिता सञ्चालन गर्न दिइने स्पष्ट पारे ।

गण्डकी भ्वाइससंग कुरा गर्दै उनले भने, ‘सहारा क्लवप्रति उदार हुन खोजेको होइन । एक महिना अघि नै विदेशी खेलाडीहरु पोखरा आइसकेको जानकारी पाएका छौं । त्यसले पनि सोच्नै पर्ने बाध्यता छ ।’

आवश्यक परेमा दर्शन विना पनि प्रतियोगिता सञ्चालन गर्नुपर्ने भन्दै प्रजिअ आचार्यले रंगशालाको दर्शक क्षमतामध्ये एक चौथाई मात्रै दर्शक राखेर सञ्चालन गर्न आयोजकलाई भनेको बताए ।

लकडाउन नै गर्नुपर्ने अवस्था सृजना भएमा भने प्रतियोगिता स्थगित हुने उनले स्पष्ट पारे ।

स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरेर प्रतियोगिता सञ्चालन गर्न र खोप कार्ड नभएका दर्शकलाई प्रवेश नदिन आयोजकलाई निर्देशन दिइएको उनले बताए ।

उनले आहा रारा गोल्डकपलाई मेला र महोत्सवसंग तुलना गर्न नसकिने भन्दै उनले यस विषयमा धेरै कुरा गर्न आवश्यक नभएको स्पष्ट पारे ।

Leave a Comment