सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी सहयोगार्थ सहारा क्लब पोखराले आयोजना गरेको सहारा च्यारिटी डिनर नाइट–२०८२ को आयव्यय सार्वजनिक गरिएको छ । 
यसपालि नियमित देउसीभैलो कार्यक्रम स्थगित गरी क्लबले पहिलोपल्ट उक्त कार्यक्रम गरेको थियो । कात्तिक १४ गते पोखरामा सम्पन्न सहारा च्यारिटी डिनर नाइट कार्यक्रम भने अभूतपूर्व सफल बनेको छ ।
जसबाट १७ लाख ४१ हजार ६२६ बचत (केही उठ्न बाँकीसमेत) भएको क्लबले पत्रकार सम्मेलनबीच सार्वजनिक गरेको हो । कार्यक्रममा २४ लाख १९ हजार १७७ आम्दानी भएकामा खर्च कटाई सो रकम बचत भएको क्लब महासचिव गंगाराम पौडेलले बताए । आम्दानीतर्फ टिकटबाट १० लाख ८७ हजार, नगद सहयोग १० लाख ८९ हजार र उठ्न बाँकी २ लाख ४२ हजार छ ।
खर्चतर्फ सबैभन्दा बढी खाजा–खानामा ५ लाख ८३ हजार खर्च भएको उल्लेख छ । फोटो तथा भिडियोग्राफीमा ४० हजार, कलाकार प्रोत्साहन ३५ हजार, यातायातमा १० हजार, मञ्च डेकोरेसनमा ८ हजार ७ सय खर्च भएको छ । 
क्लबले २५ हजारभन्दा बढी सहयोग गर्ने दाताको नामसमेत सार्वजनिक गरेको छ । तीमध्ये हिमश्री फुड्स प्रालिका कार्यकारी अध्यक्ष प्रेमकुमारी केसीबाट १ लाख ५१ हजार, निर्देशक प्रकाश केसीबाट १ लाख २५ हजार, सहारा युकेबाट १ लाख सहयोग प्राप्त भएको छ । 

क्लबका मानार्थ सदस्य एमबिई दिलीपकुमार गुरुङ सल्लाहकार टीकाबहादुर कार्की, साधारण सदस्य चन्द्रबहादुर गुरुङबाट जनही ५१ हजार सहयोग प्राप्त भएको छ । क्लब सहकोषाध्यक्ष विष्णु गुरुङले ५० हजार, क्लबका शुभेच्छुक विनोद गुरुङले ३० हजार सहयोग गरे । यस्तै, २५ हजार सहयोग गर्नेहरु सहारा युके सल्लाहकार दिलरास गुरुङ, तमु धिं युके अध्यक्ष जुमकाजी गुरुङ, सहारा क्लब युके संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ, गोर्खा मिडिया युकेका प्रबन्ध निर्देशक मिलन तमु, सहारा क्लब पोखराका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ, पूर्व सहकोषाध्यक्ष अशोक–पार्वती लालचन र क्लब शुभेच्छुक सरिता गुरुङ छन् ।

Leave a Comment