आहा राराको रजत संस्करण
२५ वर्षमा दोस्रोपल्ट च्याम्पियन
विजय नेपाल
पोखरा, ९ फागुन ।
नेपाली फुटबल प्रतियोगिताको इतिहासमा अनवरत् २५ वर्षको रजत संस्करणसम्म निरन्तरता दिँदै आएको एकमात्र इभेन्ट आहा रारा पोखरा गोल्डकप हो । राजधानी काठमाडौंबाहिर मोफसलमा फुटबल प्रतियोगितामार्फत सामाजिक सेवामा अग्रसर रही २०५५ सालमा पोखरा बसपार्कमा सहारा क्लब पोखराको जन्म भयो ।
आयोजकले रारा कप हुँदै २०५८ सालमा आएर राष्ट्रियस्तरको क्याराभान गोल्डकप सफलतापूर्वक सम्पन्न गर्यो । उक्त प्रतियोगिताबाट हौशिएको सहाराले अर्को वर्षबाट आहा गोल्डकप नामबाट पोखरा रंगशालामा दर्शकलाई फुटबलको मज्जा दिन थाल्यो । हिमश्री फुड्सको उत्पादन आहा चाउचाउको मुख्य प्रायोजनमा सुरुआति केही वर्षपछि आहा रारा गोेल्डकपको नामबाट सञ्चालित प्रतियोगितालाई पोखरा महानगरपालिकाले संरक्षण दियो । र, नाम फेरियो–आहा रारा पोखरा गोल्डकप । 
यसरी ०५८ को क्याराभान हुँदै ०८२ सम्मको इतिहास बोकेको आहा रारा पोखरा गोल्डकपको २५ औं रजत संस्करण यस वर्ष विशेष बनाउन आयोजक लागिपर्यो । एकातिर पुरस्कार राशि बढायो भने पोखरा रंगशालामा रातिमा फुटबल खेलाउन फ्लड लाइट जडान प्रयास गर्यो । नेपालको पूर्वबाट २० लाख खर्चेर ल्याइएको उक्त लाइटले पर्याप्त उज्यालो नदिँदा चौंथो खेलबाट नियमित ३ बजेदेखि नै प्रतियोगिता थालियो । पहिलो गाँसमै ढुंगा लागेको भए पनि शनिबार आयोजकलाई सुखद नतिजा दिँदै रजत संस्करण समापन भएको छ ।
किनकि ऐतिहासिक यो संस्करण जित्ने घरेलु टोलीको हुटहुटी अन्ततः सफल भयो । पोखरा रंगशालामा फाइनलमा आफ्ना समर्थकमाझ सहाराले बलियो टिम जावलाखेल युथ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै दोस्रोपल्ट उपाधि जित्न सफल भएको हो । २०७० सालकोे १२ औं संस्करणमा मनाङ मस्याङ्दी क्लबलाई हराउँदै पहिलोपल्ट उपाधि जितेयता सहारा उपाधिबाट वञ्चित हुँदै आएको थियो । साँच्चिकै १२ वर्षमा खोलो फर्किन्छ भन्ने नेपाली उखान चरितार्थ बन्यो । सहाराले २०६९ र ०७३ सालमा पनि फाइनल पुगेको थियो । तर क्रमशः थिस्टार र मनाङसँग समान १–० गोलअन्तरले उपविजेतामै सीमित हुनुपरेको थियो ।
सहारालाई उपाधि जिताउन मुकुन्दकुमार न्यूरे र टेई डेनियल बडरूले एकएक गोलको योगदान दिएका हुन् । योसँगै सहाराले ट्रफीसहित नगद १४ लाख हात पारेको छ । १४ वर्षपछि फाइनल खेलेको जावलाखेल उपविजेतामा सीमित हुँदै नगद सात लाख प्राप्त गरेको छ ।
१० औं संस्करणमा जावलाखेल फाइनलमा मनाङसँग २–० गोलअन्तरले उपाधिबाट चुकेको थियो । यसपालि उपाधि जित्ने सपना पनि घरेलु टोलीले होम ग्राउण्डको फाइदा लिँदो चकनाचूर पारेको हो । 
खेलको २५ औं मिनेटमा न्यूरेले सुशील लामाको कर्नर पासमा उत्कृष्ट गोल गर्न सफल भएका हुन् । पहिलो हाफ एक शून्यमा सकिएकोमा खेलको ७३ औं मिनेटमा सहाराका लागि टेई डेनियल बडरूले सुशील लामाकै पासमा गोल गर्दै गोलअन्तर दोब्बर पारे ।
प्रतियोगितामा सहाराका स्टाइकर मुकुन्दकुमार न्यूरे प्लेयर अफ दि टुर्नामेन्ट घोषित भए । उनले टेलजीको स्कुटर र ट्रफी पुरस्कार प्राप्त गरेका छन् । उनी उदीयमान खेलाडी पनि घोषित भए ।
यसैगरी, सहाराकै टिकेन्द्र थापा उत्कृष्ट गोलकीपर, टेई डेनियल उत्कृष्ट डिफेन्डर, सुनिल रानामगर उत्कृष्ट प्रशिक्षक बने । प्लानिङ ब्वाइज युनाइटेडका पापा इबु केवे सर्वाधिक गोलकर्ता (३ गोल), जावलाखेलका बौबाकार सिसोखो उत्कृट मिडफिल्डर, जावलाखेलकै धवेन्द्र कुँवर उत्कृष्ट स्ट्राइकर घोषित भए । यसैगरी, उज्वेकिस्तानको आभा फुटबल क्लबले फेयर प्ले टिम अफ दि टुर्नामेन्टको उपाधि जित्यो । फाइनल खेलमा सुशील लामा नै प्लेयर दि म्याच घोषित भएको प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए । विधागततर्फ सबैले नगद २५ हजार र ट्रफी प्राप्त गरे ।
१२ टिमले भाग लिएको प्रतियोगितामा सहाराले उद्घाटनमा गोर्खा इन्टरनेशनल फुटबल क्लबलाई १–० ले हराउँदै विजयी यात्रा सुरुआत गरेको थियो । सर्वाधिक ६ पल्टका उपाधि विजेताहरु पुलिस फुटबल क्लबलाई क्वाटरफाइनलमा र मनाङ मर्स्याङ्दी क्लबलाई सेमिफाइनलमा सडन डेथको शिकार बनाउँदै जावलाखेलसँग फाइनल प्रतिस्पर्धा गरेको हो ।
उता, पहिलो खेलमा मच्छिन्द्र क्लबलाई हराएको (२–०) जावलाखेलले प्रिक्वाटरमा चर्च ब्वाइज युनाइटेड (३–०) र सेमिफाइनलमा आभा फुटबल क्लब, उज्वेकिस्तानलाई हराउँदै (१–०) फाइनल पुगेको हो ।
जावलाखेलले यसअघिका खेलको तुलनामा फाइनल उत्कृष्ट खेल्न सकेन । प्रशिक्षक सुनिलकुमार श्रेष्ठले पनि आफ्ना भरपर्दा खेलाडीमाथि सहाराले रेकीले रणनीतिअनुसार प्रदर्शन हुन नसकेको स्वीकारे । 
जितपछि सहाराका प्रशिक्षक सुनिल रानामगरले खुसी हुँदै यसको श्रेय खेलाडीहरुलाई जाने बताउँछन् । १२ वर्षअघि सहाराले उपाधि जित्दासमेत उनी म्यानेजर थिए ।
विजयीलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्की, मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसी, सहारा क्लब पोखरा अध्यक्ष केशवबहादुर थापा, संस्थापक अध्यक्ष वसन्त थकाली, पूर्व अध्यक्षहरु विक्रम थकाली, वीरभद्र आचार्य, केशवराज बराल, हरिराम गुरुङ (सुरज) लगायतले पुरस्कार वितरण गरे ।
सहाराले पोखराको दोबिल्लामा असहाय एवं कठिन परिस्थितिका बालकहरुलाई आश्रय दिँदै सहारा फुटबल एकेडेमी चलाउँदै आएको छ । हाल १६ जिल्लाका ३० जना बालकहरुले नियमित फुटबल सिक्दै शिक्षा दीक्षा आर्जन गरिरहेको क्लब अध्यक्ष केशवबहादुर थापाले बताए ।
आहारारा हेर्न सहारा क्लब पोखराको शाखाहरु सहारा हङकङ, सहारा युके, सहारा क्लब अष्टे्रलिया, तमु धिं युकेसमेतका पदाधिकारी तथा सदस्यहरुको पनि ठूलो संख्यामा उपस्थिति थियो ।

Leave a Comment