“”
News

आमाजस्तै राष्ट्रिय टोलीबाट खेल्ने सपना छ

काठमाडौं (हाम्रो खेलकुद) – कास्कीस्थित सहारा एकेडेमीका दोस्रो ब्याचका सुशील लामाले आफू बुझ्ने भएदेखि नै फुटबल बाहेक केही सोचेनन् । परिवारका पाँच सदस्यमध्येका माइला सुशील आमा दिलमाया लामाकै प्रेरणामा फुटबलमा होमिएका हुन् ।

नेपालको राष्ट्रिय महिला फुटबल टोलीको पहिलो ब्याचकी खेलाडी दिलमाया आफ्नो जमानामा उत्कृष्ट फरवार्ड थिइन् । नेपालले सन् १९८६ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा उनले नै नेपालको आक्रमण सम्हालेकी थिइन् । घरेलु फुटबलमा गण्डकी अन्चल र पश्चिमान्चलबाट उनीसँगै राष्ट्रिय टोलीकी पूर्वकप्तान कमला हिराचनले पनि खेलेकी थिइन् ।

‘म पहिला लुम्बिनीबाट खेलें अनि गण्डकीबाट खेल्न गएँ । म खेल्दा उनी पनि टोलीमा थिइन् । मैले लामो समय त खेलिन, तर उनले पछि पनि नियमित खेलिरहिन् । हामीले पहिलो पटक हङकङमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा उनले नै आक्रमणमा खेलेकी थिइन्,’ पूर्वकप्तान हिराचनले बताइन् ।

दिलमायाले आफू खेलाडी भएकै कारण आफ्नो छोरालाई पनि खेलाडी बनाउने सपना देखेकी थिइन् । घरमा अरु कसैले सहमति नजनाएपनि दिलमाया सुशीललाई भने खेलाडी नै बनाउन चाहन्थिन् । सानो छँदा आमाले नै फुटबल खेलेको हेर्दा सुशीललाई पनि फुटबल खेल्न मन थियो । आमाले राष्ट्रिय टोलीबाट खेलेको त सुशीलले हेर्न पाएनन् तर क्षेत्रीय खेलकुदमा आमाले खेलेको उनलाई याद भने छ ।

गण्डकीको क्षेत्रीय टोलीमा माथिल्लो पंक्तिमा सुशीलकी आमा स्व. दिलमाया लामा
(बायाँबाट तेस्रो, धर्के सर्टमा)

२०६६ सालमा आमाको निधन हुँदा सुशील १६ वर्षका थिए । परिवारबाट फुटबल खेल्न साथ दिने एकमात्र सदस्य आमाले समेत छोडेपछि सहारानै सुशीलका लागि सहयात्री बन्यो । त्यसो त उनी आमा र मामाकै सहयोगमा त्यसअघि नै एकेडेमीमा प्रशिक्षण गर्दै आएका थिए ।

कास्कीकै सहारा एकेडेमीबाट हुर्केका सुशील हाल मनाङ मर्स्याङ्दी क्लबसँग आबद्ध छन् । आइपुग्दा उनले अनेक आरोह अवरोह छिचोलेका छन् । आमाले जस्तो परिवारका अन्य सदस्यले साथ नदिएपनि उनले आफ्नो रुचिको क्षेत्रलाई कहिल्यै छाडेनन् ।

‘बी’ डिभिजन क्लब ब्वाइज युनियनबाट फुटबल यात्रा थालेको २७ वर्षे लामाले त्यसपछि न्युरोड टिम एनआरटी, फ्रेन्ड्स क्लब र मनाङ–मर्स्याङ्दी क्लबबाट आफ्नो कला देखाइसकेका छन् । २०६९ मा खर्चिलो बनेको र घरेलु फुटबलको पुरानो र चर्चित क्लब न्युरोड टिम (एनआरटी) बाट खेलेपछि राष्ट्रिय टोलीको प्रारम्भिक चरणको टोलीमा समेत पर्न सफल भएका थिए ।

आफू उच्च लयमा रहँदा घरेलु फुटबलको मेरुदण्ड मानिने लिग नहुँदा त्यसको असर सुशीलमा परेको थियो । ए डिभिजनमा डेब्यु गरेकै सिजन राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समेत परेका उनी त्यसपछि लिग नहुँदा आफ्नो लयलाई निरन्तरता दिन सकेनन् । मोफसलको प्रतियोगिताकै भरमा फुटबल वरपर रहेका उनले आफ्नो स्तर उकास्न पुन: राष्ट्रिय टोलीको बाटो बुन्न सकेनन् ।

उनै सुशीलले आफ्नो बाल्यकाल, त्यसपछिको संघर्ष र वर्तमान स्थितिलाई आफ्नो शब्दमा यसरि बयान गरेका छन् :

बाल्यकाल

म सामान्य परिवारमा जन्मिएको हुँ । मेरो परिवारमा एक दाई र दिदी तथा एक भाइ र बहिनी छन् । खेलकुद क्षेत्रमा आमा हुनुहुन्थ्यो । आमा राष्ट्रिय फुटबल खेलाडीको भएकाले नै मलाई फुटबलमा लाग्न सहज भएको थियो । अझ भन्नुपर्दा आमाले नै मलाई फुटबल खेलाडी बनाउनुभएको हो । आमाको साथ पाएपनि परिवारको अन्य सदस्यबाट मलाई साथ थिएन । आमाकै कारण मैले फुटबलबाहेक केही सोच्न परेन । मलाई फुटबल खेल्नुपर्छ भनेर हौसला मेरो आमाले नै दिनुभएको हो ।

म सानैदेखि आमाको खेल हेर्न विभिन्न ठाउँमा जाने गर्दथे । त्यही भएर म सानै देखि नै फुटबलसँग नजिक हुन सके । उमेर बढ्दै गएपछि पछि मलाई पनि फुटबल खेलाडी बन्नुपर्छ भन्ने सोच आयो । तर, मैले यो कुरा मेरो बाबालाई भन्न सकिन ।

घरमा बाबा मात्रै कमाउने हुनुहुन्थ्यो । बाबालाई भन्न नसकेका कारण मलाई खेल्न बुटकै खाँचो पर्दथ्यो । घरमा बुट किन्नका लागि पैसा पनि हुने थिएन । बुट किन्नको लागि घरमा पैसा माग्दा दिनु हुन्थेन ।

स्कुल जादा खाजाको लागि दैनिक ५ रुपैयाँ पाउँथें । त्यही पैसा जम्मा गरेर कवाडी गोदाममा गएर अरुले फटाएको जुत्ता किनेर लगाउँथें  । त्यही पनि जोडी जुत्ता पाउन निकै गाह्रो हुन्थ्यो । ठुलो भएपनि ममीकै जर्सी लगाएर बाहिर खेल्न निस्कन्थे । बाबाले दाई, दिदी, भाई र बहिनीलाई धेरै माया गर्नुुहुन्थ्यो । मलाई माया गर्ने आमा मात्रै । बाबाको माया नपाएकै कारण मलाई घरमा बस्न निकै असहज हुन थालिसकेको थियो ।

फुटबल भनेपछि म स्कुल पनि छाडिदिन्थे । साथीहरु स्कुलबाट आउँदा म पहिल्यै मैदान पुगिसकेको हुन्थे । घरको नजिकै फुटबल मैदान रहेकाले म दिनभर जसो त्यहीं हुन्थें । म चार कक्षामा हुँदादेखि नै घरबाट स्कुल पठाउनु भएन । पछि मैले पनि वास्ता गरिन । आखिर मेरो ध्यान खेल्नुमै थियो ।

सहारा एकेडेमी

बाबाले हरेक कुरामा मलाई विभेद गर्ने र बाबाकै माया नपाएका कारण घर बस्ने इच्छा मर्दै गएको थियो । तर, मेरो मनमा फुटबल खेलाडी बन्ने नै थियो । पछि आमा र मामाले कुरा गरेर मलाई सहारा एकेडेमीमा राखिदिनु भयो । आमाले राम्रो फुटबल खेलाडी बन्नको लागि एकेडेमीमै बस्नुपर्छ भन्नुभएको थियो । घरमा बसिरहे फुटबल खेलाडी बन्ने र खेल्ने सपना पुरा हुदैन जस्तो लागेर म २०६२ सालदेखि एकेडेमीमा बस्न थाले ।

त्यतिबेला एकेडेमीमा हामी २५ जना थियौं । डम्बरसिंह गुरुङ हाम्रो प्रशिक्षक हुनुहुन्थ्यो । पहिलो देखि नै हल्का खेलिरहने भएका कारण मलाई केही सहज भयो । मेरो पहिलो कोच भनेको नै मेरो आमा हो । मलाई सुरुमा फुटबल खेल्नुपर्छ भनेर बल दिएर मैदानसम्म लैजाने ममी नै हो । मैले त्यहाँ राम्रो प्रशिक्षण गर्ने मौका पाए ।

सानो भएपनि म मजासँग बल खेलाउन सक्ने भइसकेको थिए । २०६६ मा ममीको निधन भएपछि म एक वर्ष एकेडेमी बसे । मैले त्यहाँ धेरै जान्ने बुझ्ने र सिक्ने मौका पाए । आज म जहाँ छु, पहिलो मेरो आमा अनि सहाराकै कारण छु ।

व्यावसायिक करियर

सहारा एकेडेमीमा रहँदा हामीलाई ‘बी’ डिभिजन खेल्न ब्वाइज युनियन क्लब काठामाडौंले बोलाएपछि हामी ९ जनालाई सहाराले एकैचोटि ब्वाइज युनियनमा पठाएको थियो । त्यसपछि मैले एकेडेमी छाडे । ६७/६८ मा एक सिजन ब्वाइज युनियनबाट ‘बी’ डिभिजन खेले । तर,ब्वाइज युनियनलाई शीर्ष श्रेणीमा उकाल्न सकिएन । त्यसपछि पोखरा फर्किए ।

ट्रिनिटी क्लब स्याङ्जा वालिङबाट ‘बी’ डिभिजनको राष्ट्रिय लिग पनि खेले । त्यसपछि म ‘ए’ डिभिजन क्लब एनआरटीमा ट्रायलको लागि काठमाडौं आए । टोलीमा पर्न सफल भएँ । एक सिजन खेले । पहिलो सिजनमै राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा पर्न सफल भएँ । तीन साता जति राष्ट्रिय टोलीमा प्रशिक्षण गर्ने मौका पाए । एनआरटीले फुटबल नखेल्ने भएपछि फ्रेन्डस क्लबबाट एक सिजन खेले ।

त्यसपछि झन्डै चार वर्ष लिग भएन । मोफसलका केही प्रतियोगिताहरु पोखराबाटै खेले । त्यसपछि ‘बी’ डिभिजन हुने खबर आयो । एनआरटीले एक सिजन नखेलेका कारण रेलिगेसनमा परेको थियो । म पुनः एनआरटीमा जोडिए । एनआरटीलाई शीर्ष डिभिजनमा उकाल्न सफल भए । त्यसबेला लिगको बेस्ट मिडफिल्डर पनि घोषित भएँ ।

त्यसपछि नेपालको चर्चित क्लब मनाङ-मर्स्याङ्दीसँगै अन्य क्लबबाट अफर आएपनि आफ्नो मनपर्ने क्लब मनाङमा अनुबन्धित भए । मोफसलका थुप्रै प्रतियोगिता खेले । राम्रो पनि भइरहेको थियो । तर, अवसर कम पाइने भएपछि म पुनः मनाङ छाड्दै एनआरटी फर्किए । औसतको रुपमा रहेको टोलीको कप्तानी गर्ने जिम्मेवारी पाए । एक सिजन एनआरटीबाट ‘ए’ डिभिजन लिग खेले । त्यसपछि पुन मनाङ फर्किए ।

गएको वर्षसहित मैले चार सिजन ‘ए’ डिभिजन लिग खेल्ने अवसर पाए । लिगमा हालसम्म तीन गोल गर्न सफल भए । गएको वैशाखदेखि मनाङसँगको सम्झौता सकिएको छ । कोरोना त्रासका कारण सम्झौता नवीकणबारे केही निर्णय भएको छैन । अवस्था साम्य हुदै गएपछि सबै कुरा मिल्दै जान्छ भन्ने आशा छ ।

मैले तीन फरक क्लबबाट ‘ए’ डिभिजन् लिग खेले । तर, मनाङबाट खेल्दाको जस्तो दवाव रमाइलो अन्य क्लबबाट पाउन भएको अनुभूति भएन । अन्य क्लबको लक्ष्य लिगमै टिक्ने तथा मनाङको लक्ष्य च्याम्पियन बन्ने रहेकाले पनि त्यस्तो भएको हुन सक्दछ । खेलमा प्रशिक्षकको रणनीतिले पनि फरक पार्ने गर्दछ ।

उदाहारणको रुपमा मनाङमा रहेका तोपे फुजालाई लिन सकिन्छ । अघिल्लो सिजन मनाङलाई च्याम्पियन बनाएका फुजाले गत सिजन स्टार खेलाडीले साथ छाडेपनि मनाङलाई तेस्रो स्थानमा ल्याउन सफल भए । नेपाली प्रशिक्षक पनि क्षमतावान छन् । तर फुजाको प्रशिक्षणमा खेल्दा बेग्लै महसुस गरेको छु ।

लक्ष्य

म २०६९ सालमा पहिलो पटक ए डिभिजन खेल्दा नै राष्ट्रिय टोलीको प्रशिक्षणमा पर्न सफल भएको थिएँ । त्यतिबेला म करियरकै उच्च फर्ममा थिए । तर, दोस्रो चरणमा स्थान बनाउन असफल भइन। तीन साताको प्रशिक्षणमा मैले निकै मिहेनत गरेको थिएँ । पहिलोपटक भएकाले होला धेरै कुरा सिकें । तर त्यसपछि लिग रोकिँदा पुन: राष्ट्रिय टोलीमा स्थान बनाउन सकिन । उमेर समूह प्रतियोगिता खेल्न योग्य भएपनि एन्फा एकेडेमीभन्दा बाहिरबाट आएको कारण प्राथमिकतामा परिन ।

हरेक खेलाडीको जस्तै मेरो लक्ष्य पनि राष्ट्रिय टोलीबाट खेल्नु रहेको छ । अझ आमाले राष्ट्रिय टोलीबाट खेल्नुभएको थियो, र उहाँको सपना मलाई पनि राष्ट्रिय टोलीबाट खेलेको हेर्नु थियो । म एकेडेमीमै छँदा आमा बित्नुभएको हो । मैले प्रतिस्पार्धात्मक फुटबल खेलेको आमाले देख्न पाउनुभएन । मेरो एकमात्र लक्ष्य राष्ट्रिय टोलीबाट खेल्नु हो । आमाको सपना पूरा गरेमात्र मेरो करिअरले सार्थकता पाउनेछ ।

लक्ष्य प्राप्त गर्नका लागि हरेक दिन मिहिनेत गरिरहेको छु । अर्को मौका पाएँ भने पक्कै आफूलाई प्रमाणित गर्नेछु । चोटकै कारण लामो समय मैदान बाहिर बस्नुपरेको छैन । गत सिजन काँधको समस्याले केहि खेल गुमाएको थिएँ । अहिले कोरोनाका कारण खेल बन्द हुँदापनि फिटनेसमा पूर्ण ध्यान दिएको छु ।

अन्तमा,

नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने आधार अझै छैन । क्लबले पनि खेल हुने सिजन अनुसार सम्झौता गर्ने गर्दछन् । पूरा पारिश्रमिक नपाएको घटना सामान्य हुन थालिसकेको छ । यसबारे सोचिदिन म एन्फा र क्लबलाई आग्रह गर्दछु । अहिले कोरोना त्रासका कारण खेल्ने वातावरण बनिसकेको छैन ।

युरोपतिर फुटबल फर्केको खबरले यता पनि छिट्टै फर्कन्छ भन्ने आशा छ । फुटबल नै जीविकोपार्जनको एकमात्र स्रोत भएको हामीजस्ता खेलाडीका बारेमा सम्बन्धित पक्षले सोचोस् । खेल रहे मात्र हामी खेलाडी रहने हो ।

सुशीलको क्लब यात्रा

२०६२ – सहारा एकेडेमी

२०६८ – ब्वाइज युनियन (‘बी’ डिभिजन)

२०६९ – न्युरोड टिम (एनआरटी)

२०७० – फ्रेन्ड्स क्लब

२०७३ – न्युरोड टिम (एनआरटी – ‘बी’ डिभिजन) त्यसपछि मनाङ

२०७५ – न्युरोड टिम (एनआरटी)

२०७६ – मनाङ–मर्स्याङ्दी क्लब

(हाम्रो खेलकुदसँगको कुराकानीको आधारमा तयार पारिएको सामग्री)

Leave a Comment